त्रिभूवन विश्वविद्यालयल, शिक्षा र राजनीति

TU

त्रिभूवन विश्वविद्यालयल जस्तो स्वायत्त संस्थाले  वर्तमान कोरोनामयी विषम परिस्थितिमा समयमै उपयुक्त सरल वैकल्पिक विधीबाट परीक्षा नगराई पुरानै शैलीमा परीक्षा लिनखोज्नु बहुलठ्ठिपन हो । विश्वबैंकले विश्वविद्यालय लाई दिने ४७ करोड र लाईब्रेरीलाई दिने ३९ लाख पचाउन जसरी पनि भौतिक उपस्थितिबाटै लिन खोजिएको परीक्षामा यदि कसैलाई कोरोना लागि ज्यान गएमा के विश्वविद्यालयले उक्त व्यक्तिको जीवन फिर्ता ल्याउने क्षमता राख्दछ ? हैनभने करिब ६ लाख मानिसको ज्यान लगिसकेको र विश्वलाई नै लकडाउनमा राखेको कोरोनालाई किन यति हल्का रुपमा हेरिदैछ । के बर्षभरिको ज्ञान ३ घण्टामा लेखिने ५ प्रश्नको उत्तरले सहि मुल्यांकन गर्न सक्ला ? जीवन रहे परिक्षा जति लगेपनि हुन्छ ।

कोरोना संक्रमण घटेको हैन, परिक्षणको दायरा घटाईएको हो । अष्ट्रेलिया र भारतमा पुन लकडाउन लगाइएको छ । चीनमा पुन: संक्रमण बढिरहेको छ । कोरोना संक्रमण २ जनामा देखिदा, देशभरि लकडाउन लगाई अौषधी र खाध्य सामग्री किन्न हिडेकालाई ढाडमा सुम्ला उठ्नेगरि लाठि लगाउने जब संक्रमण संख्या ६ हजार पुग्यो, ४० जनाको मृत्यु भयो तब लकडाउन हटाई बेसार पानि, टिमुर, अदुवा, नुन खानु भन्ने सल्लाह दिदै आफु भने संसदको रोष्टममा बस्दा समेत पन्जा लगाइ सामाजिक दुरि राखि सुरक्षित भई बजारमा लकडाउन हटाई खुल्ला रुपमा आवतजावत गर्न दिनु पाखण्डी मानसिकता हो ।

त्रिभूवन विश्वविद्यालयल उपकुलपतिको भनाईबमोजिम त्रिविका ४ लाख विद्यार्थीमध्ये अहिलेसम्म जम्मा ६४ हजारको मात्र त्रिवि  Mail ID बनाइएको छ ! यहि क्रमले अगाडि बढ्ने हो भने सबै विद्यार्थीलाई समेट्न अझै बर्ष लाग्ने देखिन्छ । साथै राजधानीमा बस्ने विद्यार्थीहरुले अहिले पनि विश्वकै महंगो  इन्टरनेट शुल्क तिरिरहेका छन् । यस्तो अवस्थामा राजधानी भन्दा बिकटमा बसोबास गर्ने विद्यार्थी जहाँ एक कल फोनगर्न कोसौ टाढा जानुपर्छ । जहाँ प्रविधिको  साधन नभई प्रविधिको उपयोगबारे विद्यार्थीहरु अनविज्ञ छन् । त्यहाँका विद्यार्थीहरु कसरी अनलाईन परीक्षामा सहभागी हुन सक्लान ?

जो केहि हप्ताको लकडाउन सम्झि किताबै नबोकि गाउँ छिरेका थिए । के ४ महिनासम्म किताब नहेरेका, घोकेर पास हुने हाम्रा विद्यार्थी, आजको भोली परीक्षा दिन सक्षम होलान् । दुई सेमेस्टरको विचमा ४ महिनाको ग्याप अनिवार्य हुनुपर्ने प्रावधान छ । सो ४ महिना वितिसक्दा पनि त्रिविले रनभुल्ल भई विनानिर्णय समय विताएकोले चर्को शुल्क तिरेर, घरको ऋण तिर्ने उमेरमा प्राविका विद्यार्थी झै विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म कलेजमा बसी, सामान्य रोजगारी समेत गर्न नपाईं, महंगो कोठाभाडा तिर्ने विद्यार्थी जो बेरोजगारीको चपेटामा गुजारा चलाएका वृद्ध बा-आमाका सन्तानहुन उनीहरूको भविष्यमा गम्भीर असर पर्नेमा कुनै संका छैन ।

त्रिभूवन विश्वविद्यालयल को शिक्षा भनेको व्यवहारिक हुनुपर्छ । सैद्धान्तिक र घोकन्ते शिक्षाले कुरा गर्न मात्र सिकाउछ । कक्षा १ देखि स्नातकोत्तरसम्म आन्तरिक र बाह्य गरि सयौं परिक्षा दिइन्छ । तर पढाई सकिसकेपछि रोजगारीको बाटो लोकसेवा वा विदेश पलायन मात्र  बाँकी देखिन्छ । व्यवहारिक, श्रमसंग जोडिएको र वैज्ञानिक शिक्षाले तत्काल ज्ञानको उपयोग गरि वर्तमान समयमा परिवार र देशलाई थप उचाईमा पुर्याउन मद्दत गर्दछ । त्यसैले सरकार खाडिमा गिट्टी, बालुवा बोक्न र अमेरिका र अस्ट्रेलियामा भाडा माझ्न पठाउन, हाम्रा विद्यार्थीलाई अथा ऋणको भारी बोकाउनुको कुनै औचित्य छैन ।

सरकार हामीलाई १ कक्षा बाट कोरियन, जापानी र जर्मनी जस्ता भाषा पढाईयोस् ताकि सरकारले युवालाई विदेश पठाई देशमा बृद्ध- बृद्धा मात्र राख्ने मानसिकतामा हामी सक्षम बन्न सकौं । या त GK, IQ र लोकसेवाको किताब पढाइयोस् ताकि हामिले पढाई सकेपछि रोजगारीको लागि २ जनाको सिटको आस मानी लोकसेवाको किताब पढि बाँकी जीवन गुजार्न नपरोस् । जुन देशबाट दैनिक १५ सय देखि २ हजार युवा विदेश पलायन हुन्छन् के त्यस्तो देश आत्मनिर्भर बन्न सक्ला ? यदि त्यस्तो देशलाई विदेशीले चाहेमा १० मिनेटमा आक्रमण गरि कब्जा गर्नसक्नेमा कुनै संका छैन । किनकी युवा नै देशका मेरुदण्ड हुन, उनीहरूनै नरहे कसरी देश रहला ?

नेपालमा SLC पढ्ने बित्तिकै व्यवसाय गर्ने वा विदेश जाने युवाले, हामी स्नातकोत्तर सक्ने बेला सम्म जग्गा किनेर घर बनाई सकेको हुन्छ । जब हामि मास्टर सक्छौ तब जग्गाको मुल्यले आकाश छोएको हुन्छ । रोजगारीको प्रतिशस्पर्धा झनै बढेको हुन्छ । हाम्रो देशमा नयाँ सरकारि अस्पताल, विध्यालय र कलकारखाना खोलिएको इतिहास सायदै भेटिएला त्यसैले, यदि नयाँ युवाले सरकारी जागीर खान, या त पुरानाहरु रिटायर्ड हुनुपर्यो या त उनीहरुलाई DV पर्नुपर्यो । कि त उनीहरूको जीवनलिला सकिनुपर्यो ।

बल्ल त्यो पद खालीहुन्छ । यस्तो जागिरलाई हाम्रो देशमा उत्तम जागिर मानिन्छ । जहाँ २० जनाको कोटामा ५० हजार मानिस भिडाइन्छ । यदि खरिदार, सुब्बा र अधिकृत पदको लागी त्रिविबाट स्नातकोत्तर सकेको व्यक्तिको क्षमता योग्य नठहरिने  हो भने, के उपलब्धि भयो र बर्षौ लगाई, लाखौ रकम खर्च गरी, वृद्ध बाबु-आमाका सपनालाई थाति राखि २ अक्षर सिकेर गौरव गर्नुमा ? जुन सिकाइले रोजगारीको ग्यारेन्टी गर्दैन । जुन शिक्षाले ठिकलाई ठिक र बेठिकलाई बेठिक भनि देशबेचुवासंग प्रश्न गर्न सिकाउदैन त्यस्तो पढाई के पढाई ?

जब देशमा युवाहरु बेरोजगार हुन्छन् तब हत्या, हिंसा, बलात्कार, चोरि, डकैति, तस्करी, कुलत र झोले प्रवृतिमा युवाहरु फस्दछन् । तब देश बेचुवा नेताहरुले ५५ अर्बको लागी MCC जस्ता सम्झौता गर्न लाग्दा समेत युवाहरु मौन रहन्छन् । अन्तमा देश र जनतामा विदेशी उपनिवेश कायम हुन्छ । जब विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले गरिब जनताको विरुद्धमा काम गर्ने र देशबेचुवा नेता र पार्टीलाई समर्थन गर्छन । त्यस्तो देशमा नपढेका गाउँका युवा र बुढा बा-आमाले कस्तो नेता चयन गर्लान यो  सहजै अनुमान लगाउन सकिन्छ ।

राजनिति समाजको अंग हो । देशमा कस्तो विकास गर्ने, कुन वर्गलाई सत्तामा राख्ने , कुन वर्गलाई शिक्षा र स्वास्थ्यबाट बन्चित गर्ने र कति कर उठाउने जस्ता यावद निर्णयहरु राजनैतिमै आधारित हुन्छन् । जब युवा विद्यार्थीहरु असल राजनीतिबाट टाढा रहन्छन् त्यो देशमा भ्रष्टाचार र राजनैतिक अपराध गरेका व्यक्तिहरुले बारम्बार सरकारको बागडोर सम्हाल्न पाउछन् ।

त्यसैले उनीहरु विश्वविद्यालयबाट राजनीतिलाई अलग्याउने प्रस्ताव राख्छन् । हो पदिय र आर्थिक भागबन्डामा लिप्त रहने, विद्यार्थीको परिचयपत्र र भर्ना फर्म भर्ने र पार्टीको गुनगान गाई देशघाती नेताको चाकडि गर्ने राजनीति विश्वविद्यालयमा हुनु भन्दा नभएकै राम्रो । त्यसैले युवाहरुले पद र पैसाकोलागी नभई पिछडिएका र सुविधाबाट बन्चित पारिएका आवाज बिहिनहरूको पक्ष लिई, सत्य र न्यानमा अडिग राजनैतीक आवाज बोल्नुपर्छ।

हाम्रो देश इतिहासमै कसैको गुलाम नबनेको र प्राकृतिक स्रोत साधनले भरिभराउ हुँदा पनि नेपालीहरु बेरोजगार भई खाद्यान्न, शिक्षा, स्वास्थ्य र आवास जस्ता जीवनका सामान्य आवश्यकतामा समेत पहुँच राख्न नसक्नु तर नेताहरुको पैसाले विदेशी बैंकका खाता भरिभराउ हुनु लाजमर्दो अवस्था हो । सडकभरि विरामीहरुले जीवनको भिख माग्दा समेत उनीहरुको निशुल्क उपचार नगराई सरकार उनीहरूलाई कसिंगर सम्झिन्छ । अर्कोतिर धनी नेता र उनका सन्तानलाई उपचारको बहानामा विदेश घुमाउँनमा सरकार मरिमेट्छ ।

जुन सरकार करोडौ भ्रष्टाचार गर्ने मन्त्री, सांसद र ठेकेदारलाई अंगालोमा बेरि आफ्ना असक्षम नातागोतालाई देशको मुख्य पदमा राख्छ । देश भित्रका सुचना विदेशीलाई दिई , विदेशीको चारो खान्छ । गरिब जनताबाट चर्को कर उठाई महंगा गाडिमा सवार हुन्छ । त्यस्तो सरकार वा पार्टी देश र जनतालाई विकाश र सम्वृद्धिमा पुर्याउने कदापि ठहरिदैन ।

त्यसैले सरकारले उद्योग र कलकारखाना खोली युवाहरुलाई स्वदेशमै उचित ज्याला सहितको रोजगारिको ब्यवस्था गर्नुपर्छ । हुनत भएका कलकारखाना, नदि, प्राकृतिक स्रोत विदेशीलाई सुम्पि उनीहरूकै हितमा चल्ने सरकारसँग आशा गर्नु मुर्खता हो । चिल्ला चिल्ला भाषण दिएर कुनै देशले आर्थिक विकास गरेको इतिहास छैन । हामीले कुरालाई भन्दा काम र व्यवहार हेरी समर्थन र विरोध गर्नु आवश्यक छ । अन्यथा पुन: हामी बलिको बोका बन्नेछौं । तब हाम्रा भावी पुस्ताले अहिलेको भन्दा दर्दनाक अवस्था झेल्नुपर्नेमा कुनै संका छैन ।

 

Leave a Comment