नेपाली विद्यार्थीहरुको अन्यौलता ?

विद्यार्थीहरुको

हामी नेपालीहरुको चलन के छ भने, हामीले पढ्ने भनेको पछि ठूलो भएर भविष्यमा कुनै कार्यलयको हाकिम वा सुट पाइन्ट लगाएर जागिर खाने हो भन्ठान्छौँ र अरुलाई पनि त्यही गर्न लगाउछौँ । यो अन्यौलता बाट हामी माथी उठ्न जरुरी छ । यदि तपाई जागिर खानको लागि मात्र पढ्दै हुनुहुन्छ भने त्यो गलत हो किन भने जागिर खाने मात्र सोचले पढ्यो भने ति विद्यार्थीहरुको हातमा लब्धांक पत्र त पाउछ । तर, ज्ञान केही पाँउदैन ।

फलस्वरुप न त ! हामीले सोचेजस्तो जागिर पाउछौँ न त ! आमाबुबा, इष्टमित्र, समाज र देशले हामीप्रति आशा राखेजस्तो सफलता नै प्राप्त गर्न सक्छौँ । त्यसैले अधिकांश विद्यार्थीहरु धेरै कक्षा उत्तीर्ण गरेर पनि निराश छन् र लक्ष्य विहिन छन् । यसको एउटै कारण हो: हाम्रो शिक्षा प्रणाली व्यवहारिक नहुनु ? शिक्षा लाई श्रम संग जोड्न नसक्नु ? यो राज्य सञ्चालकाका मालिकहरूले गर्नु पर्ने काम हो ।

हाम्रो देशमा विद्यार्थीहरुको अवस्था कस्तो छ ?

अधिकांश हामी जस्ता विद्यार्थीहरु/युवाहरु अहिले प्रमाण पत्र तह (+2) उत्तिर्ण गर्ने बित्तिकै: आईएल्टस्, स्याट, जि. आर. ई.  जस्ता आदि कोर्षको कक्षा लिएर विदेश जान हतार भएको देखिन्छन् । विदेश जान खोज्नेहरुसँग विदेश किन जान लागेको भनेर सोध्दा, “नेपालमा बसेर के गर्ने, जति पढे पनि जागिर पाउन गाह्रो छ” भनेर भन्छन् । यो कुरा सुन्दा मलाई दुःख लाग्छ । तर, यस्तो भन्नेहरु गलत हुन ।

पढाइको हिसाबले भन्ने हो भने प्रमाण पत्र तह भनेको तपाईंले भर्खर अक्षर चिन्न थालेको जस्तो हो । अक्षर बाट शब्द निर्माण, शब्द बाट वाक्य निर्माण, वाक्य बाट अनुच्छेद हुदै कथामा पुग्न बाँकी नै छ । अब तपाईं आफैं सोच्नु होस्, के तपाई पढाइको माध्यमबाट मात्र प्रमाण पत्र तहले राम्रो जागिर पाउन योग्य हुनुहुन्छ ?

नेपाली विद्यार्थीहरु विदेशमा गएर भाडा माझ्ने, चर्पी सफा गर्ने जस्ता काम गर्न तयार हुन हुन्छन् ? तर, स्वदेशमै बसेर त्यो भन्दा उच्च स्तरको काम गर्न खोज्दैनन् । यसको एउटै कारण हो : स्वदेशमा योग्यता अनुसारको काम र काम अनुसारको सेवासुविधा नपाउनु । शिक्षामा पनि विभेत गर्नु यी यस्ता कारणले युवा विद्यार्थीहरु विदेशिन बाध्य भएका छन् । फलस्वरूप विदेश दिन प्रतिदिन झन् झन् विकसित हुदै छ, भने हाम्रो देश २१ औं शताब्दीमा पनि १९ औं शताब्दीको जस्तै देखिन्छ ।

हामीलाई थाहा छ नेपालको जनसंख्या कार्यालयहरुले दिने जागिर भन्दा अत्याधिक छ । सबैलाई जागिर दिन सम्भव छैन। यसको विकल्पमा हामी व्यापार, व्यवसाय, कृषि, र शिक्षामा अन्य काम जस्ता महान काम गर्न सक्छौँ । हामीले मेहनत गरेर पढेर, पढेका कुरालाई व्यवहारमा उतार्न सक्यौ भने कहिल्यै पनि जागिरको पछाडि भौतारिदै हिड्नु पर्दैन । जागिर उल्टै तपाईंको पछि लाग्ने छ । हिन्दी चलचित्र “3 idiots” मा पनि भनेकै छ : “सफलताको पछाडि कहिल्यै नभाग्नुहोस्, सफल बन्नुहोस सफलता तपाईंको पछाडि भाग्ने छ ।”

मेरो जिन्दगी मेरो विश्वास :

यदि तपाईलाई एक घण्टा जति फुर्सद छ भने श्रीमान विजय कुमार पाण्डे जी ले चलाउनु भएको ‘मेरो जिन्दगी मेरो विश्वास’ कार्यक्रमको श्रीमती चमेली वाइबासँगको अन्तर्वार्ता युट्युबमा हेर्नुहोस् । चमेली वाइबा मकवानपुर जिल्ला, बज्रबाराही वडा नं  ८ तसहर ठाउँकी एक महिला हुन् । उहाँले मात्र प्रौढ शिक्षा पढ्नुभएको छ । मात्र प्रौढ शिक्षा पढेर पनि उहाँले अरु अशिक्षित महिलाहरुलाई प्रौढ शिक्षा दिनुभएको छ र आफ्नो समाजमा पनि ठुलो परिवर्तन ल्याउन सफल हुनुभएको छ ।

उहाँले भन्नुभएको छ, “प्रौढ कक्षामा नयाँ गोरेटो भन्ने  एउटा किताबका साना तिना अक्षर र अंक सिक्दा मात्रै जीवन यत्ति सजिलो हुन्छ भने स्कुल, क्याम्पसका किताबका सबै अक्षरका सहि अर्थ जान्नेहरुको जीन्दगी कति आनन्दि हुदो हो ।” हुन पनि हो किताबमा असिमित ज्ञान हुन्छ जसको केही अंश मात्र बुझ्ने हो भने पनि हाम्रो जीवन धन्य हुन्छ । हामीले स्कुल, क्याम्पसमा धेरै राम्रा कुराहरु पढेका हुन्छौँ , जसले ठूलै कुराको आविष्कार गर्न सक्छौँ ।

तर, त्यसलाई वास्तविक व्यवहारमा उतार्ने प्रयास गर्दैनौँ। फलस्वरुप हामीमा दुःख, पीडा र निराशा मात्र बाँकी रहन्छ । यहाँ मैले विजयी जी को लाई एउटा उदारणको रुपमा मात्रै प्रस्तुत गरेको हौँ । सिकाइका लागि यस्ता धेरै उपाए छन् । विज्ञान, इतिहासका, भूगोल, राजनीतिक, संस्कृति र अन्य कुराहरूको ज्ञान पाउनलाई बजारमा प्रकाशित थुप्रै पुस्तकहरू पढ्न सक्नु हुन्छ ।

पढ्ने कसरी ?

जीवनमा कोही पनि परीक्षामा फेल हुन चाहदैनन् । तर, नचाहँदा नचाहँदै पनि फेल हुन पुग्छन् । आफ्नो कमजोर आर्थिक अवस्थाका कारण ठूलो भएर पढ्नु घरमा सबै अशिक्षित भएर सिकाउने मान्छे कोही नहुनु आदि कारणले विद्यार्थीहरुले राम्ररी पढ्न सक्दैनन्  र सफल हुन सक्दैन । प्रायः जसो धेरैका आमा बुबाले छोरा छोरी पढ्दैनन् र सधैँ फेल हुन्छन् मात्र भन्छन । तर, पढ्न मन नलाग्नुको कारण कहिल्यै खोज्दैनन् ।

विद्यार्थीहरुको मुख्य पढ्न मन नलाग्नुको कारण केही नबुझेर हो । तपाईको छोरा छोरी पढाइमा कमजोर छन् भने, यदि तपाई शिक्षित हुनुहुन्छ भने उसको कमीकमजोरी पत्ता लगाएर समाधान गर्न तर्फ लाग्नु होस र अशिक्षित हुनुहुन्छ भने उसको गुरुबा गुरुआमासँग सोधेर समाधान गर्न तर्फ लाग्नुहोस् । अनि मात्र विद्यार्थीहरुको तपाईले सोचे जस्तो प्रगति हुन्छ । प्रायः हामी सबैले विद्यार्थी सफल हुन संस्कृतमा एउटा प्रसिद्ध क्ष्लोक सुनेकै छौँ होला

काक चेष्टा बको ध्यानं,

श्वान निद्रा तथैव च।

अल्पहारी गृह त्यागी,

विद्यार्थी पंच लक्षणं।।

अर्थात् विद्यार्थीहरुको सफल हुन यी पाँच वटा लक्षण हुनु आवश्यक छ: पढाइको लागि काग जस्तो चेष्टा राख्ने, बकुल्ला जस्तो ध्यान दिने, कुकुर जस्तो सुताई गर्ने, थोरै  खाने र शिक्षाको लागि घरको मायाँ त्यागेर जान सक्ने हुनुपर्छ ।

विद्यार्थीहरुको सफल हुन विस्तृत रुपमा भन्नु पर्दा तल दिएका निम्न कुराहरु पालना गर्न सक्नुपर्छ र यी कुराहरु जीवनमा पालना गर्न सक्नु भयो भने कहिल्यै पनि परीक्षामा होस् वा जीवनमा कतै पनि असफलता भन्ने भेटाउनु हुँदैन ।

१. विद्यालय सधैँ र समयमा जानुहोस ।
२. पढ्ने बेलामा अनुशासनमा रहनुहोस् ।
३. गुरुले पढाउनु भएको सबै कुराहरु ध्यान दिनुहोस्  र कुनै पनि शब्द वा वाक्य बुझ्नु भएन भने त्यही बेला त्यसलाई स्पष्ट पारिदिन गुरुलाई आग्रह गर्नुहोस् ।
४. पाठको अभ्यास गर्नु पूर्व, पाठ मज्जाले बुझने गरेर पढ्नुहोस् ।
५. गणित भएको सबै कुरा आफूलाई नहेरेर लेख्न नआएसम्म लेखेर मज्जाले अभ्यास गर्नुहोस् र भाषा मात्र भएको बेला मज्जाले बुझेर मात्र पढ्दा हुन्छ ।
६. नबुझेको अंग्रेजी शब्दलाई पेन्सिल वा पेनले रेखाङ्कित गरेर नेपालीमा उल्था गरेर लेख्नुहोस् ।
७. एउटा किताबको सबै अभ्यासहरु एउटा कापीमा नसक्केसम्म राम्ररी लेख्नुहोस् र पछि परीक्षाको बेला निकालेर पढ्दा पनि पढौ पढौ झै लाग्ने गरेर सुन्दर तरिकाले लेख्नुहोस् ।
८. परीक्षामा सोधिने प्रश्नहरुको शैली हेरेर त्यही अनुसार परीक्षाको लागि तयारी गर्नुहोस् ।

एउटा कक्षा पास गरेर अर्को माथिल्लो कक्षामा पुग्दा पनि त्यतिकै र सके अझ अलि बढि मेहनत गर्नुपर्छ । ४ कक्षाको टपर मेहनत गरेन भने उ कक्षा ५ मा फेल पनि हुनसक्छ । त्यसैले सधैँ मेहनत गरेर पढ्नुपर्छ र नानी देखी लागेको बानी कहिल्यै छुट्दैन भने जस्तै: यदि हामीले सानै देखि नै यी बानि बसाल्यो हामीलाई सजिलो हुदै जान्छ र जीवनमा कहिल्यै हरेस खानुपर्दैन् ।

याद राख्नुहोस् जीवनमा केही पनि छोटो र सरल भन्ने हुँदैन । सफलता पाउनलाई निष्ठा पूर्वक मेहनत गर्नै पर्छ ।

विनायक भुलुन लामा

भौतिकशास्त्र स्नातकोत्तर विद्यार्थी

पाटन संयुक्त क्याम्पस पाटन ढोका, ललितपुर

Leave a Comment