मेरो प्रिय मित्र (कविता)

मुटु
प्रिय मित्र,
सपनाको भारी बोकेर
दुखका गितहरु गुनगुनाउदै
पासपोर्टको ऎनामा हेर्दै
समृद्दिको प्रतिबिम्ब
आफैलाइ छोडेर
आज प्रिय मित्र
जन्मभुमि छाडेर हिंड्दै छ ।
यो देशको
निधारमा टासिंएको
पलायनको ग्राफमा अर्को
उकालो थपेर
प्रिय मित्र हिड्यो ?
करोडौंको पसिनालाई
साटेर कौडिको मुल्यमा
मरुभूमिको देशमा
गहिरहे छन , अरु जस्तै उनी
परदेशको बन्जर हरियो पार्न
छाडेर पाखाबारिमा
आफनो पसिनाको गन्ध
खेतिबालि जिम्मा दिदै
श्रमको स्मृति सपनालाइ
पुरानो झोला भित्र राख्दै
हिडे प्रिय मित्र
अञ्जान भूगोलको अँध्यारो तिर
घरवारि थियो होला,
होला सानो तिनो खुसी
अलिक पर अन्योल थियो
होला भबिस्य !
बढिरहेका थिए होला आबश्यकताहरु
 जिन्दगी अप्ठ्यारो बनाउदै
बगिरहेको उर्जाले निकास नपाउदा
आमाको आचलमा
छोडेर सम्झना
ल्याउछु शितल चन्द्रमा भन्दै
आफनै पहाडलाई
निरव आखाले हेरेर
फर्केर आउछु
र, सिउरिन्छु गुराँस भन्ने कामना गर्दै
आज फेरि हिडे
 प्रिय मित्र !
मन भाँचेर
बिरानो मुलुकमा
तोडेर आफुलाइ
गाड्दै सपनाहरु
आज मुटु थिचेर
आमाले बिदा गरिन आफनै मुटु !
यसैगरी हिडिरहेछन
एउटा ठुलो लस्कर
यी गाउँलाई बिराना बनाउदै
थाहा छैन मलाई
उ फर्केर आउदा रहन्छ-रहन्न गाउँ
या गाउँको यो पखाइमा
फर्कन्छ-फर्कन्न उ
सपना साकार पार्दै
 मेरो प्रिय मित्र ।

जगत अधिकारी

Leave a Comment