आमा (कविता-२)

आमा कविता जगत अधिकारी

आमा तिम्रो कोखबाट

जन्म लिएर

संसार देख्ने सौभाग्य पाए!

आमा हरेक सेकेन्ड सेकेन्ड

मानसपटलमा आइरहने

ममताकी खानी हौ तिमी !

हृदयको अनन्त कुनामा

तिम्रै तस्बिर टाँसीएको छ ।

आमा मलाई यो धर्तीमा

टेकाउन कति रगत कै

नदी बगायौ होला ?

आमा तिम्रो कति थोपा

दूधले बन्यो होला ?

मेरो शरीरको एक थोपा रगत ?

आमा तिमीले नखाइ नखाइ

हामीलाई पेटभरि

खुवाई रहनु भयो।

आमा एका बिहानै

डोको नाम्लो बोकेर

आफ्नो कर्ममा लागिरहनु हुन्छ।

आमा,

भोक नभनी

तिर्खा नभनी

निन्द्रा नभनी

दिन नभनी

रात नभनी

सधैं सधैं कुधिरहनु भयो।

आमा डोको नाम्लो बोक्दा बोल्दै,

तिम्रो पिठ्युमा नीला नीला

डामहरु सधैं सधैं बसिरहे

आमा नाम्लो बोक्दा बोक्दा तिम्रा

कपाल रितिँदै गएका छन्।

आमा कुट्टो कोदाली गर्दा गर्दै

तिम्रा हात हतियार भन्दा

बलिया भएका छन्।

आमा खाली खुट्टा हिँड्दा हिँड्दा

तिम्रा पाइताला ढुङ्गा भन्दा

बलिया भएका छन्।

आमा हाम्रा हर दुःख

हाम्रा खुशी

हाम्रा यात्रा

हाम्रा सपनाकी

खानी हुनु हुन्छ।

कोटीकोटी नमन आमा !

सम्पूर्ण आमाहरुलाई मातातीर्थ औँसीको शुभकामना।

              – रचनाकार ⇒ जगत अधिकारी

Leave a Comment