अन्तराष्ट्रिय श्रमिक दिवस : एक इतिहास

श्रमिक

श्रमिकहरुको गौरवमय इतिहास, बलिदानीपूर्ण सङ्घर्ष र रक्तरञ्जित इतिहास बोकेको श्रमिक दिवस सन् १८८६ मे १ तारीख बाट अमेरिकाको शिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित मजदुर आन्दोलन भएको थियो। तत्कालीन समयमा अमेरिकामा कारखानामा काम गर्ने मजदुरहरुलाई कुनै अधिकारहरु दिइएको थिएन । उनीहरुलाई मतदान गर्ने, आफ्ना मागहरु राख्ने, मागपत्रहरु पेश गर्ने र आफ्ना अधिकारहरु सुरक्षित गर्नलाई बोल्ने अधिकार समेत दिएको थिएन ।

उनीहरुलाई प्रतिदिन १८/२० घण्टा काममा खटिनु पर्थ्यो । कामको निश्चित समय तोकिएको थिएन: धेरैजसो मजदुरहरूले निन्द्रा, आराम र भोकको प्यास मेटाउन पाउँदैन थिए । मजदुरहरुले कडा परिश्रमको बाबजुद पनि आराम गर्न नपाउने र बिरामी हुँदा बिरामी भन्न पाउने आवस्था समेत थिएन । त्यति कठोर परिश्रमको बाबजुद पनि आफ्नो प्राण धान्न समेत मुस्किल पर्ने खालको व्यवस्था थियो । यो व्यवस्थाको प्रतिकार गर्दै हजारौं मजदुरहरु आन्दोलनमा होमिन बाध्य भए।

मई दिवस/श्रमीक दिवस कहिलेदेखि मनाउन थालियो :

सन् १८८६ मे ३ तारिखमा भएको प्रहरी दमनमा ६ जना श्रमिकहरुको निर्मम हत्या गरिएको थियो । सो हत्याको विरोधमा मे ४ तारिखमा भएको विरोध सभामा कुनै अज्ञात व्यक्तिले शिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट गरेको थियो । बम विस्फोटनमा एक जना प्रहरीको मृत्यु हुन पुग्यो र प्रहरीले आन्दोलनरत श्रमिकहरु माथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागि सात जना श्रमिकको मृत्यु भयो । संघर्षशील आन्दोलनमा श्रमिकहरुले अन्ततः सफलतासमेत प्राप्त गरे।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् मजदुर नेताको बैठकले मे १ तारिख मा “अन्तर्राष्ट्रिय मजदुर दिवस” मनाउने घोषणा गरेका थिए । तसर्थ: सन् १९९० देखि विश्वभर यो दिवस माइँदै आआइरहेका छन् । नेपालमा भने वि. स. २००७ साल देखि मजदुर दिवस माउँदै आएका छन् ।

औद्योगिक क्रान्ति:

सन् १८४० देखि १८५० सम्ममा अमेरिकामा औद्योगिक क्रान्ति पूरा भयो । रेल यातायातको विकासले व्यापार र उद्योग तथा कल कारखानाको विकासमा तीव्रता ल्याएको थियो । कोइला, तामा, फलाम, तेल र काठ–पातको अपार भण्डार भएको अमेरिकामा औद्योगिक श्रमिक /मजदुरहरूको सङ्ख्या दिन पर दिन बढ्दै जानु अस्वाभाविक भएन । यसरी औद्योगिक उत्पादनको हिसाबले त्यो विश्वको पाँचौँ देश बन्यो ।

१८६० तिर संरा अमेरिकाको कुल जनसङ्ख्या ३ करोड १० लाखमा १८ लाख जनता मजदुरमा परिणत भए । उद्योगहरूमा काम गर्ने मजदुहरूमा एउटा ठूलो भाग केटाकेटीहरू थिए । सन् १८६५ सम्ममा संरा अमेरिका औद्योगिक उत्पादनमा संसारमा चौथो श्रेणीमा पुग्यो । १८७० मा तेल झिक्ने उद्योगको विकासबाट मजदुरहरूको सङ्ख्यामा लाखौँले वृद्धि भयो ।

मजदुरहरूको तत्कालीन स्थिति:

पुँजीवादको विकास सँगसँगै आर्थिक विषमता बढ्दै गयो । पुँजीपति र मजदुरहरूबीचको खाडल झन्–झन् फराकिलो हुँदै गयो । धनी झन्–झन् धनी हुँदै जानु पुँजीवादी देशको विशेषता नै हो । श्रमिक /मजदुरहरू दिनमा १८ देखि २० घण्टासम्म श्रम गर्दा पनि दुई छाक खानसक्ने औकातमा थिएनन् । आफ्ना बालबच्चाहरूलाई पढाउनु–लेखाउनु त कता हो कता एक सरो लगाउन र एक भर पेट खुवाउनसम्म पनि तिनीहरूलाई धौधौ पर्दथ्यो । यसले गर्दा केटाकेटी र बुढाबुढीलाई समेत कारखानामा कडा परिश्रम गर्नुपर्दथ्यो ।

मार्क्स र ऐंगेल्सको कम्युनिस्ट घोषणा पत्रमा भनिएको छ, “मजदुरलाई औसतरूपले खालि त्यतिमात्र ज्याला दिइन्छ जति उसलाई बाँच्नको निम्ति एकदम आवश्यक पर्दछ अर्थात् त्यति नपाएको खण्डामा मजदुर बाँच्न सक्दैन । यसकारण मेहनत गर्ने मजदुरले आफ्नो कडा परिश्रमबाट जति ज्याला पाउँछ, त्यसबाट आफ्ना र जहान परिवारको गुजारा मुश्किलले चलाउन सक्दछ । मजदुर बाँच्नै नसक्ने भएको खण्डमा फेरि मजदुर कहाँबाट आउला ?”

दिनभरि काम गरिसकेपछि मजदुरहरू आफ्नो छाप्रो–डेरामा फर्कन्थे । सबभन्दा सस्तो खानेकुरा रोटी थियो । तसर्थ बिहान तिनीहरू कफी र सुख्खा रोटी खान्थे भने दिउँसो धेरैजसो एक टुक्रा प्याजसँग सुख्खा रोटी निल्थे । बेलुकी पनि अधिकांशको खाना रोटी नै हुन्थ्यो । डेराको बहाल कम गर्न एउटै कोठामा पनि ८–१० जवान मजदुरहरू बस्न बाध्य थिए ।

मजदुर आन्दोलन विकास:

अमेरिकी मजदुरहरूले समय समयमा छिट्फुट विद्रोहहरू गर्दै आए । पुँजीवादी चरम शोषणविरुद्ध मजदुरहरू भित्रभित्रै सचेत र सङ्गठीत हुँदै आए । १९ औँ शताब्दीको सुरुमा नै अमेरिकी मजदुरहरूले ‘सूर्योदयदेखि सूर्यास्तसम्म’ काम गराउने प्रवृत्तिको विरुद्ध आवाज उठाउँदै आएको पाइन्छ । त्यतिबेला पनि मजदुरहरूलाई १८ घण्टासम्म काम गराउनु सामान्यजस्तो नै थियो । सन् १८०६ मा फिलाडेल्फियाका आन्दोलनकारी मजदुरहरू नेताहरूमाथि षड्यन्त्रपूर्ण मुद्दा चलेपछि त्यहाँका मजदुरहरूलाई २० घण्टासम्म काममा जोताइन्छ भन्ने सत्य उद्‍घाटन भएको थियो ।

संसारको सबैभन्दा पहिलो मजदुर सङ्गठन फिलाडेल्फियाका मेकानिक्सहरूको सङ्गठनलाई मानिएको छ । त्यो मजदुर सङ्गठन बेलायतका मजदुर सङ्गठनहरूभन्दा २ वर्षअगाडि स्थापना भएका थिए । फिलाडेल्फियाको त्यस मजदुर सङ्गठनको नेतृत्वमा सन् १८२७ मा त्यहाँका मजदुरहरूले दिनमा १० घण्टाको कामको माग गर्दै हडताल भयो । यसबाट केही उद्योगहरूका मजदुरहरूले आफ्ना मागहरू पूरा गराउन सफलता प्राप्त गरे ।

सन् १८५० देखि १८६० को दसकमा अमेरिकामा धेरै मजदुर सङ्गठनहरू बने । २० अगष्ट १८६६ मा साठी मजदुर सङ्गठनका प्रतिनिधिहरू बाल्टिमोरमा जम्मा भए । त्यस भेलाबाट ‘नेशनल लेवर युनियन’ को स्थापना भयो । श्रमिक /मजदुरहरूका राष्ट्रिय सङ्गठनको आन्दोलन विलियम एच. सिल्विसको नेतृत्वमा अगाडि बढ्यो । सन् १८६६ मा नेशनल लेवर युनियनको स्थापनाको समयमा भएको अधिवेशनमा निम्नि लिखित प्रस्ताव स्वीकार गरिएको थियो।

“यो देशका मजदुरहरूलाई पुँजीवादी दासताबाट मुक्त गर्नेको लागि आजको सबैभन्दा पहिला र मूल आवश्यकता यस कुराको छ कि एउटा यस्तो कानुन बनाइयोस् जसले अमेरिकाको हर प्रान्तमा ‘आठ घण्टा’ लाई कामको दिन भनेर निश्चित गर्दछ । यसको गौरवपूर्ण नतिजामा पुग्नको लागि हामी आफ्नो पूरा शक्ति लगाउने निश्चित गर्दछौँ ।” तर सुन १८६९ मा सिल्विसको असामयिक निधन भयो । त्यसपछि युनियनमा खराब तत्वहरूको प्रवेशले गर्दा नेशनल लेवर युनियनको बदनामी भयो र त्यो त्यतिकै विलिन भएर गयो ।

७० को दशक पनि श्रमिक /मजदुर आन्दोलनको महत्वपूर्ण अवधि:

१८७० देखि १८८० मा संरा अमेरिकाको श्रमिक आन्दोलनको इतिहासमा एक महत्वपूर्ण अवधि थियो । मजदुरहरू लामो समयको काम र कम ज्यालाको विरोधमा आफ्नो पक्षमा कानुन बनाउन लगाउन आर्थिक र राजनैतिक सङ्‍घर्षहरू चर्काउँदै थिए ।

७० कै दशकमा भएका मजदुर आन्दोलनहरूमध्ये रेल मजदुरहरूको आन्दोलन उल्लेखनीय छ । १८७७ मा भएको त्यस ऐतिहासिक मजदुर आन्दोलन दबाउन पुँजीपति वर्गले सेना र स्वयम्सेवकको नामधारी गुण्डाहरू प्रयोग गर्‍यो । रेल मजदुरहरूको त्यस हडतालमाथि गोलीको वर्षा गर्न पनि पुँजीपति वर्ग पछि परेन । दमनको कारण आन्दोलन चर्किन मद्दत पुग्यो ।

मजदुरहरू कति पनि झुकेनन् । अरु औद्योगिक मजदुर र किसानहरूले पनि रेल्वे मजदुरहरूको समर्थन गरे । पिट्सवर्ग, बाल्टिमोर, शिकागोलगायत प्रमुख सहरहरूमा हडताली मजदुर र सिपाहीँबीच चर्का भीडन्तहरू भए र ती भीडन्तमा कम्तीमा कम ३०० मजदुर मारिए । अमेरिकाका सहरहरू सहिदको रगले रङगिए । हत्याकाण्डले सुतेर बसेका सम्पूर्ण मजदुरहरूलाई झक्झक्याई दियो । मजदुरहरूको त्यस आन्दोलनले क्षणिकरूपमा हार खाए पनि भुसको आगोजस्तै आन्दोलनको आगो भित्र भित्रै बलिरह्यो ।

मई आन्दोलनको तयारी:

मजदुरहरूको आन्दोलनको सिलसिला रोकिएन । सङ्‍घर्षकै क्रममा मजदुरहरूले थुप्रै अनुभवहरू हासिल गर्दै गए । उनीहरूको उत्साह र लडाकूपन बढ्दै गयो । मार्क्स र ऐंगेल्सले लगाउनुभएको ‘विश्वका मजदुरहरू एक होऔँ’ भन्ने नारा विश्वभर फैलिँदो थियो । अमेरिकी मजदुरहरूमा पनि मार्क्सवादको प्रभाव पर्दै थियो तर त्यहाँ मजदुरहरूको नेतृत्व गर्ने कम्युनिस्ट पार्टीको स्थापना भने भइसकेको थिएन ।

सन् १८४८ मा महान् गुरु कार्ल मार्क्सले मजदुरहरूको वास्तविक मुक्तिको बाटो प्रस्ट पारिसक्नु भएको थियो । मजदुर आन्दोलनलाई तलब वृद्धि र कामको घण्टा कम गर्ने आदि स–साना मागहरूमा सीमित नगरी मजदुर वर्गकै राज्य सत्ता स्थापना गर्ने मुख्य लक्ष्यमा परिणत गर्नु मार्क्सवादको सार हो । मार्क्सवादी साहित्यको प्रचारप्रसारको प्रभाव अमेरिकी मजदुर नेताहरूमा पनि पर्दै गयो र आन्दोलनलाई नयाँ दिशामा लग्ने तयारीहरू हुन थाले ।

सन् १८८० को दशकमा अमेरिकामा औद्योगिक विकास तीव्ररूपले भयो । तर, त्यहाँ १८८४ र १८८५ मा ठूलो आर्थिक मन्दी आयो । यस अवधिमा मजदुरहरूको बेकारी समस्या चर्को भयो । यसबाट श्रमिक /मजदुर आन्दोलन विकासमा थप टेवा पुर्‍यायो ।

आठ घण्टाको कार्य दिनको नारा व्यापक श्रमिकहरूमा लोकप्रिय बन्दै गइरहेको थियो । अमेरिकाका मजदुर सङ्गठनहरू सन् १८८६ को मई १ बाट पुनः मजदुर आन्दोलनको आँधीबेहरी ल्याउने घोषणाका साथ तयारीमा जुटे । मई आन्दोलनको लागि सन् १८८५ देखि तयारी आन्दोलनहरू हुन थाले ।

सन् १८८१ देखि १८८४ सम्म भएका हड्तालहरूको औसत सङ्ख्या डेढ लाख थियो भने सन् १८८५ मा ७०० हड्ताल र आन्दोलनमा भाग दिने मजदुरको सङ्ख्या २ लाख ५० हजारसम्म पुग्यो । १८८६ सम्ममा १८८५ मा भन्दा दुई गुणा बढी अर्थात् १५७२ वटा हड्तालहरू भए भने हड्ताली मजदुरहरूको सङ्ख्या ६ लाखसम्म पुगेको थियो । १८८५ मा २४६७ उद्योगहरूमा हड्ताल भएको थियो भने १८८६ मा यो सङ्ख्या बढेर ११,५६२ सम्म पुगेको थियो ।

स्रोत : नौलो आयाम द्वैमासिक, २०५५

Leave a Comment